काठमाडौं– नेपालमा विदेशी मुद्रा सञ्चिति १८ खर्ब ४४ अर्ब रुपैयाँ नाघेको छ । गत असार मसान्तमा १५३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी मुद्रा सञ्चिति १९.९ प्रतिशतले बढेर माघ मसान्तमा १८४४ अर्ब ९४ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६२३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २२१ अर्ब २ करोड रुपैयाँ कायम भएको छ ।
२०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । माघसम्मको विदेशी मुद्रा सञ्चितिले १४.७ महिनाको वस्तु र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । २०८० माघ मसान्तमा विदेशी मुद्रा सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।









