काठमाडौं– कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तंग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशयीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ । तर, सार्वजनिक वित्तका सूचकहरु अहिले पनि सकारात्मक छैनन् । न्यून राजस्व असुली, कमजोर पुँजीगत खर्च, बढ्दो चालु खर्च, वर्षेनी बढिरहेको सार्वजनिक ऋण र त्यसको साँवा–ब्याजको दायित्वलगायतका समस्या ज्युँका त्युँ छन् ।
पुँजी निर्माण र आन्तरिक उत्पादनका क्षेत्रमा लगानी हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर लक्षित अंकभन्दा निकै तल छ । बेरोजगारी र युवा पलायनको समस्या हल हुन सकेको छैन । बैंक–वित्तीय संस्थामा तरलता सहज भएका ब्याजदर घट्दोक्रममा रहेपनि कर्जाको माग बढ्न सकेको छैन । बढ्दो मुद्रास्फीति र घट्दो बजार मागले उपभोक्ता बजार चलायमान बन्न सकेको छैन । ठूलो लगानी रहेका घरजग्गा र पुँजीबजार क्षेत्रमा पनि उल्लेख्य चमक छैन । यसै सन्दर्भमा पछिल्लो एक वर्ष अवधिमा मुलुकको आर्थिक तथा वित्तीय सूचकमा देखिएका परिवर्तनलाई राससले तुलनात्मक समीक्षा गरेको छ ।
बाह्य क्षेत्र
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले बढेर माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ बराबर पुगेको छ । २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड थियो ।
चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.७ महिनाको वस्तु र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । जबकि, गत आर्थिक वर्ष २०७९–८० को माघ मसान्तसम्ममा १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति थियो । अहिले विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४.३ प्रतिशत छ । गतवर्ष माघ मसान्तसम्ममा यस्तो अनुपात २५.१ प्रतिशत थियो ।
चालु खाता एवं शोधनान्तर स्थिति
गत आर्थिक वर्ष २०७९–८० को माघ मसान्तसम्ममा २९ अर्ब ६४ करोडले घाटामा रहेको चालुखाता अहिले १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ । गतवर्षको माग मसान्तसम्ममा १ अर्ब ४ करोड खुद प्रत्यक्ष वैदेशिक लगानी मुलुकले भित्र्याएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब १८ करोड रुपैयाँ छ । त्यसैगरी, २०७९ माघ मसान्तमा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेकोमा २०८० माघ मसान्तमा २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ ।
विप्रेषण आप्रवाह
गत आर्थिक वर्ष २०७९–८० को शुरुवाती सात महिनामा मुलुकले ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ विप्रेषण भित्र्याएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह ८ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको शुरुवाती सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रेमिट्यान्स २१.६ प्रतिशतले बढी हो ।
वैदेशिक व्यापार
चालु आर्थिक वर्षको शुरुवाती सात महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालले कुल ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । गतवर्षको तुलनामा निर्यात मात्र नभई आयात पनि घटेको छ । गत आर्थिक वर्ष २०७९–८० को सात महिनामा आयात ९ खर्ब १९ अर्ब १७ करोड बराबर रहेकोमा चालू आर्थिक वर्षको सोहि अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड कायम भएको छ ।
सरकारी वित्त
गत आर्थिक वर्ष २०७९–८० को सात महिनामा संघीय सरकारको कुल खर्च ६ खर्ब ६७ अर्ब ६६ करोड थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको कुल खर्च ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
गतवर्षको तुलनामा यसवर्ष राजस्व संकलनमा पनि उल्लेख प्रगति देखिँदैन । गत आर्थिक वर्षको सात महिनामा करतर्फ ४ खर्ब ६४ अर्ब १९ करोड र गैर करतर्फ ५० अर्ब ५० करोड गरी कुल ५ खर्ब १४ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको देखिन्छ । चालु आर्थिक वर्षको सोही अवधिमा कुल राजस्व परिचालन ५ खर्ब ६७ अर्ब ४० करोड पुगेको भएको छ ।
२०७९ माघ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ४ अर्ब ९२ करोड नगद रहेकोमा गत माघ मसान्तसम्ममा २ खर्ब १५ अर्ब २६ करोड रुपैयाँ नगद मौज्दात छ ।
मुद्रास्फीति
महँगी वृद्धिदर (मुद्रास्फीति) गतवर्षको तुलनामा केही घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको माघमा ५.०१ प्रतिशत छ ।
सेवा क्षेत्र
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा खुद सेवा आय ३७ अर्ब २६ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३८ अर्ब ४५ करोडले घाटामा थियो । गत आर्थिक वर्षको शुरुवाती सात महिनामा विदेश भ्रमणका लागि नेपालबाट ६२ अर्ब ५७ करोड बाहिरिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय ४९.९ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब ७५ करोड पुगेको छ । विदेशमा पढ्नका लागि नेपाली विद्यार्थीले गर्ने खर्च चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ६४ करोड छ । गत आर्थिक वर्षको शुरुवाती सात महिनामा यस्तो खर्च २२ अर्ब ६० करोड बराबर थियो ।
निक्षेप र कर्जा परिचालन
गत वर्ष २०७९ को माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको निक्षेप २ खर्ब ५३ अर्ब ९७ करोड रहेकोमा २०८० माघ मसान्तसम्ममा ३ खर्ब ९७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गतवर्षको शुरुवाती सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ ।
ब्याजदर
२०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा अहिले घटेर २०८० माघमा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत छ । २०८० माघमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत थियो ।









