बैंकक (थाइल्यान्ड)– विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भेलाले नेपाली जातिलाई एकत्रित गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एसोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० गठन गरेको छ ।
विश्वका कम्तीमा २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
अधिकारी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष हुन् । सो फाउन्डेसनको सहयोग र समन्वयमा बैंककमा नेपालीभाषीको पहिलो महाधिवेशन आयोजना गरिएको हो ।
विश्वका २७ देशमा रहेका सय जनाभन्दा बढी नेपालीभाषीको सहभागिता रहेको सो भेलाले उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिवमा चुडामणि भट्टराई, सचिवमा चिरनजंग थापा, सहसचिवमा अर्जुनकुमार पौडेल, कोषाध्यक्षमा उदयनारायण मिश्र र सहकोषाध्यक्षमा गोपी कार्कीलाई चयन गरेको छ । कार्यसमितिका सदस्यहरु पनि चयन भएका छन् ।
यसैगरी संस्थाको बोर्ड अफ ट्रस्टीमा अध्यक्ष डिल्ली अधिकारीसहित सदस्यहरूमा सुशीलकुमार पन्त, चुडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज गुरुङ, वात्सना राई, टिबी गुरुङ, बिरास अधिकारी र करिष्मा सुब्बालाई चयन गरेको छ ।
विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपाली जातिको चाहना भावनात्मकरूपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न एएनओको गठन गरिएको सो महाधिवेशनको उद्घाटनका क्रममा जानकारी दिइयो ।
महाधिवेशन उद्घाटन गर्दै थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले गरेका थिए । उनले विश्वभर छरिएका नेपालीभाषीलाई नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन एवं नेपालीबीचको सहयोग र समन्वयमा लाग्न सुझाए ।
एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्धरूपमा संसारमा छरिएर रहेका नेपालीभाषीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिए । उनले भने, ‘यो सबै नेपालीभाषीहरूको साझा संस्था भएकाले गैरराजनीतिक र गैरपक्षधर अभियान पनि हो । यो अभियान नेपाल, नेपाली, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा र आफ्नै संस्था हो ।’
उनले संसारमा रहेका नेपालीभाषीका छोराछोरीलाई नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाइ उनीहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिलाई आफ्नो मातृ तथा पितृभूमिका बारेमा सदैव जानकार बनाइराख्न यो संस्थाले काम गर्ने जानकारी दिए ।
संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जो जहाँ रहे पनि भाषा र संस्कृतिका माध्यमबाट यस संस्थाले विश्वका नेपालीभाषी समुदायलाई जोड्ने धारणा राखे । संस्थाका महासचिव चुडामणि भट्टराईले संस्था गठनको उद्देश्यबारे जानकारी गराउँदै विभिन्न ४५ भन्दा बढी मुलुकका नेपालीभाषी अभियानमा जोडिएको बताए ।
कार्यक्रममा साउदी अरेबियास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा डम्मरुबल्लभ पौडेलले नेपालमा लगानीका क्षेत्र र अवसरबारे जानकारी दिँदै यसका लागि एएनओमा आबद्ध रहेका विश्वका नेपालीभाषीहरूले पनि पहल गर्नुपर्ने बताए ।
सो कार्यक्रममा विभिन्न देशबाट आएका प्रतिनिधिले भूगोलको भन्दा भावनाको सीमा फराकिलो हुने भन्दै आफ्नो मातृ तथा पितृभूमिसँग यस संस्थामार्फत जोडिन पाएकामा खुसी व्यक्त गरे ।
पहिलो महाधिवेशन भनिएको भेलामा नेपालसहित भारत, थाइल्यान्ड, म्यानमार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, भियतनाम, कम्बोडिया, बहराइन लगायत २७ देशमा बसोबास गरिरहेका नेपालीभाषाीको सहभागिता थियो थियो ।









