काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियमअनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखलाई सम्पत्ति शुद्धीकरण (एएमएल/सीएफटी)सम्बन्धी तालिम दिएको छ ।
चैत ३ गते धुलिखेल स्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा उक्त कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुन सक्ने समस्या तथा त्यसका समाधानबारे प्रशिक्षण प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्याकंन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषय र अवलम्बन गर्नुपर्ने रणनीतिबारे प्रकाश पारिएको कम्पनीले जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण ऐनले सञ्चालक समितिको काम, कर्तव्य र अधिकारबारे गरेको व्यवस्था प्रकाश पार्नुका साथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले एएमएल÷सीएफटीसम्बन्धी संस्थामा चाल्नुपर्ने कदम तथा त्यसलाई कार्यान्वयन गर्नका निम्ति अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा पनि प्रशिक्षकले प्रकाश पारेका थिए । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग नेपालमा घटित कसुरका र उक्त कसुरहरुबाट प्राप्त भएका सिकाइहरुले आगामी दिनमा त्यस्ता घटना न्यूनीकरण गर्न कम्पनीलाई सहज हुनेमा कम्पनीको अपेक्षा छ ।
सोही कार्यक्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियमहरू तर्जुमा गरिएको र त्यसको अक्षरशः पालना गर्न र मुलुकलाई आपराधिक र आतंकवादी गतिविधिहरूबाट जोगाई समृद्ध समुन्नत राष्ट्र निर्माण गर्न हामी सबैको जिम्मेवारी रहेको र त्यो जिम्मेवारी बोध गर्दै अग्रपंक्तिमा लम्कन नेपाल लाइफ तयार रहेको कुरा यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा बनेका नीति नियमहरूको अक्षरस पालना गर्न सकिएमा वित्तीय अपराधहरू न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र कानुनी प्रावधानबारे जानकारी प्रदान गर्ने अभिप्रायका साथ नै यस तालिमको आयोजना गरिएको बेहोरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताएका छन् ।









