काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीसँग बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा बयान लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नभएकाले पक्राउ नगरी सिधै बयान लिएको बताएको छ ।

अनुसन्धान गर्नुपर्ने व्यक्तिहरु सबैजसोलाई पक्राउ गर्ने गरेको सीआईबीले चौधरीलाई पक्राउ नगरी बयान लिनुको कारण प्रस्ट पार्दै यस्तो तर्क गरेको हो ।

सरकारी जग्गा हिनामिना गरेको आशंकामा चौधरीमाथि अनुसन्धान थालेको बेहोरा संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएको सीआईबीले आज उनीसँग बयान लिएको हो ।

जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिइएको राससले सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सांसद चौधरी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए ।

यसअघि सीआईबीले सोही प्रकरणमा विनोदका भाइ अरुणलाई पक्राउ गरी बयान लिएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चमा लागको अभियोगमा सीआईबीले बहालवाला गृहसचिव, पूर्वगृहमन्त्री लगायतलाई पक्राउ गरेर असुन्धान गर्दै आएको छ । पूर्वसभामुख कृष्णबहादुर महरा पनि सुन तस्करी प्रकरणमा अहिले सीआईबीको हिरासतमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय