काठमाडौं– कन्काई नगरपालिकामा डिजिटल प्रणालीमा आधारित ठेगाना प्लेट जडान सुरु भएको छ । कन्काई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले नेपालमै पहिलोपटक पालिकास्तरमा यसको शुभारम्भ गरेका हुन् ।
एक महिनाअघि परीक्षणको रुपमा सुरु भएको ‘कताहो’ नामक एपमार्फत तयार गर्न सकिने तथा आल्मुनियम पातामा मेसिनमार्फत खोपिएर बन्ने विशेष किसिमको ठेगाना प्लेटमा घरधनीको नाम, दुई शब्द र अंकको कताहो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा रहन्छ भने नेपाल सरकारले जारी गरेको हुलाक वस्तु वितरणको लागि गुगल प्लस कोड समेत उक्त प्लेटमा रहेको छ ।
त्यसका अलावा प्लेटमा रहेको क्युआर कोडमार्फत घरधनीको मोबाइलमा घन्टी बजाउने सुविधा सहितको यसप्रकारको प्रणालीको विकास नेपालमा लामो समय प्रविधि अनुसन्धान बिताएका चर्चित जुम्ल्याहा अनुसन्धानकर्ता राम र लक्ष्मण रिमाल संलग्न रहेको एड्रेसग्राफ प्रालिले तयार गरेको हो ।
कन्काई नगरपालिकाका प्रमुख पोखरेलले नगरको वडा नं. ७, दुर्गापुरस्थित सामुदायिक भवनमा एक संक्षिप्त कार्यक्रमबीच प्लेट जडान गरी कताहो डिजिटल ठेगाना प्लेट प्रणालीको शुभारम्भ गरेका हुन् । नेपालमै तयार पारिएको अत्याधुनिक ठेगाना प्रणाली नेपालमै पालिकास्तरमा सुरु गर्न पाउँदा खुसी लागेको मेयर पोखरेलले बताए । पालिकाले स्वदेशी प्रविधिलाई आआफ्नो स्तरबाट प्रवर्द्धन गर्नुपर्ने समेत उनले बताए ।
डिजिटल ठेगाना प्रणालीको प्लेट तयार गर्न र प्रयोग गर्न निकै कम समयमा काम गर्न सकेकोमा प्रविधि विकासकर्तालाई धन्यवाद दिँदै उनले नेपालका सहरका लागि मात्र नभई विकट स्थानका लागि समेत यो प्रविधि उत्तिकै उपयोगी रहनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा कताहो प्रणालीका अनुसन्धानकर्ता रामप्रसाद रिमालले पाँच वर्ष लामो अनुसन्धानपछि विकास भएको यो प्रणालीमार्फत नेपालभर जोसुकैले पनि मिनेटभरमा डिजिटल ठेगाना प्लेट तयार गर्न सक्ने र पालिकाहरुले यसको लागि समन्वय गर्न सके ठेगाना प्रदान गर्न सरकारको ठूलो बजेट बचत हुनसक्ने बताए ।
कन्काई नगरपालिकाका उपप्रमुख आशा शिवाकोटी, स्थानीय वडाका वडाध्यक्ष भिष्मभुषण सिटौला सहित वडाका जनप्रधिनिधि, दुर्गापुर सामुदायिक भवनका अध्यक्ष अमृत योङहाङ, टोल विकास संस्थाका प्रतिनिधि, दुर्गापुर बजार व्यवस्थापन समिति, विभिन्न संघसंस्थासहित राजनीतिक दलका स्थानीय प्रतिनिधि पनि कार्यक्रममा सहभागी थिए ।
यो प्रणालीको सहायताले जुनसुकै ठाउँ पनि पत्ता लगाएर त्यहाँसम्म सजिलै पुग्न सकिने रिमालको भनाइ छ । यो प्रणाली नक्सा नभएर जुनसुकै नक्सामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको कम्पनीका प्रविधि अनुसन्धानकर्तामध्येका एक रामप्रसादले भने ।
घरघरमा यो नम्बर प्लेट टाँस्न एउटा प्लेटबापत ६ सय रुपैयाँ खर्च लाग्ने बताइएको छ । तर नगरपालिकाले नागरिकको थोरै भए पनि साझेदारीमा प्रविधि प्रयोगको महत्त्व र आवश्यकतासँगै अपनत्व बोध गराउन सय रुपैयाँ मात्र लिने र अरु खर्च आफैंले बेहोर्ने भएको छ ।









