काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) र उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)बीच नेपालमा उत्पादित सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र टीईपीसीका तर्फबाट कार्यकारी निर्देशक शरदविक्रम राणाले हस्ताक्षर गरेको एनआरएनएले जानकारी दिएको छ ।
समझदारीअनुसार टीईपीसी र एनआरएनएको सहकार्यमा नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली डायस्पोरामा बढीभन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ ।
सो अवसरमा संघका कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, संघका सचिव टीका गुरुङ, अधिकृत कुनाल मिश्र लगायत उपस्थित रहेको बताइएको छ ।









