काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । बुधबार मुटुमा समस्या आएपछि उनलाई त्यहाँ भर्ना गरिएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोप खेपिरहेका रायमाझी पुर्पक्ष थुनामा छन् ।
रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले रायमाझीको मुटुको चाल निगरानी भइरहेको बताए ।
‘उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो,’ डा. पौडेलले भने, ‘अहिले उहाँको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।’ उनको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको डा. पौडेलको भनाइ छ ।









