ललितपुर– मेड इन नेपाल नारा सहित चैत अन्तिम साता हुने ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । ललितपुरको जावलाखेलस्थित फुटबल ग्राउन्डमा चैत २२ देखि २६ गतेसम्म आयोजना हुने एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन हुने एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायत देशमा उत्पादित वस्तु, मौलिक उत्पादन र सेवाका स्टल रहने बताइएको छ ।
ललितपुर महानगरपालिका सहआयोजक तथा नेपाल चेम्बर अफ कमर्स र जावलाखेल युथ क्लबको सहयोग रहेको एक्स्पोमा फर्निचर, छालाका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका स्टल रहने ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
ललितपुर चेम्बरले इन्ट्रोडक्सन ट्रेड सो नेपाल प्रालिसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको एक्स्पोमा मेड इन ललितपुरको पेभिलिन रहने बताइएको छ । उक्त पेभिलियनमा ललितपुरमा उत्पादित मौलिक निकासीयोग्य, दैनिक उपभोग्य तथा ब्रान्ड परिचायक र ललितपुरको विभिन्न वडामा उत्पादित सामानको स्टल रहने अध्यक्ष शाक्यले बताए ।
महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीले पनि आफ्ना उत्पादनको स्टल राख्ने बताइएको छ । एक्स्पोमा अमूर्त सम्पदा र कला संस्कृतिको प्रदर्शनी, फेसन सो र बालबालिकाका लागि किड जोन पनि रहनेछ । एक्स्पोमा
सहभागी विभिन्न छिमेकि मित्र राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीको सहभागीता रहने बताइएको छ ।
एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्याउने अमूर्त सम्पदा र कला संस्कृतिको प्रस्तुतिमा कुमारी नाच, भैरव, योगिनी, सप्तलोचनी र ताराको नृत्य प्रस्तुत गरिने इन्ट्रोडक्सन ट्रेड सोका मेनेजिङ डाइरेक्टर सुमन महर्जनले बताए ।
मेलामा पाकिस्तान, भारत, थाइल्यान्ड, टर्की, मलेसिया, बंगलादेश र नेपालका उत्कृष्ट उत्पादनको १०० भन्दा बढी स्टल रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।









