काठमाडौं– एनआईसी एशिया बैंकका ऋणीले जरिवाना र हर्जाना छुट पाउने भएका छन् । बैंकले तोकिएका ऋणीलाई ब्याज रकममा पनि छुट दिने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

बैंकले देशमा कायम आर्थिक शिथिलताका कारण ऋणीमा परेको असरलाई न्यूनीकरण गर्न सघाउने भन्दै छुट योजना सार्वजनिक गरेको हो । बैंकको विज्ञप्ति अनुसार गत पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाको हकमा सम्बन्धित ऋणीले २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम २०८० चैत मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा चैत मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट पाउने छन् ।

त्यस्ता कर्जा ग्राहकले ब्याज रकममा समेत छुट पाउने बताइएको छ । ब्याजको हकमा कमसल वर्गको कर्जामा १० प्रतिशत, शंकास्पदमा १५ प्रतिशत र खराबमा २० प्रतिशत ब्याज छुट हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले उक्त योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ ।

असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाले आ–आफ्नो हिसाबले योगदान गर्नुपर्ने आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको जनाएको छ । उक्त योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने र देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको अपेक्षा छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा, ६७० एटिएम, ११७ विस्तारित काउन्टर र ५१ वटा शाखारहित केन्द्रबाट सेवा दिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय