काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पूरा गरी देशभरका शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७९ पुस ७ गते संयुक्त कारोबार सुरु गरेको थियो ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने शुभचिन्तक, ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय, व्यावसायिक साझेदारलगायत सञ्चारकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझै गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिएका सम्पूर्ण सरोकारवालालगायत नियमनकारी निकायप्रति कृतज्ञता ज्ञापन गरे ।
कम्पनीले नविनतम प्रविधिमैत्री तथा समयसापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ । नेपालको एकमात्र तथा पहिलो आइएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४५४ करोड, जीवन बीमाकोष ३,२०० करोड, कुल लगानी ३,७५० करोड रहेको छ भने नेटवर्थ ७५६ करोड रुपैयाँ बराबर छ ।
कम्पनीले हाल १७८ शाखामार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसञ्ग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।









