काठमाडौं– जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ ।
सो अवसरमा १२ स्थानमा रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षरोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।
सो अवसरमा कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगन्जमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणगढमा ४३, हेटौंडामा ३२, ललितपुरमा ३८ र काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदूरपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ ।
यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्यांकी हस्तान्तरण, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई १०० वटा रुख रोप्न ५ लाख रुपैयाँ आर्थिक सहयोग तथा १८५ वटै शाखामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ता, मार्गनिर्देशन प्रदान दिने सञ्चालक समितिका पदाधिकारी, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारी, माया गर्ने सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायका साथै नेपाल लाइफलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न भूमिका खेल्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।









