काडमाडौं– नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेशकुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रवीर मालाकार एवं पदाधिकारी सम्मिलित टोलीले सिंहदरबारमा प्रधानमन्त्री दाहालसँग आज भेटवार्ता गर्दै वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायत सुझाव दिएको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा लिएका संकुचित नीतिहरुका कारण अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, सेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तीलगायत कारणले आर्थिक गतिविधि खुम्चिएको छ, ।’

अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरु स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावी दायित्वहरु देखापरेको भन्दै त्यसको अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै घरजग्गा खरिद विक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यालयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरले जनाएको छ ।

चेम्बरले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अविलम्ब पहल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ । ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायी पीडित भएका छन् । सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान हुनुपर्छ,’ चेम्बरले भनेको छ । विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ । यस्तै करका कारण विवादित मुद्दाहरुको यथाशीघ्र समाधानका लािग कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरको छ ।

सो भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । चेम्बरको विज्ञप्तिमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै भनिएको छ, ‘अर्थतन्त्र संकटउन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको जानकारी दिए । उनले मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्न सरकारले प्रयास गरिरहेको पनि बताए ।

सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय