काठमाडौं– नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसंख्या साक्षरता’ र ‘जनसांख्कि सूचक’ नामको प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ ।
कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ ।
यसैगरी, नेपालको वार्षिक जनसंख्या वृद्धिदर यसअघि १.३५ प्रतिशत रहेकामा अहिले घटेर ०.९२ प्रतिशतमा झरेको छ । तथ्यांक कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ०.२५ जनसंख्या वृद्धिदर रहेको छ ।
पछिल्लो जनगणनाअनुसार नेपालमा एकल परिवार ६०.१ प्रतिशत र संयुक्त परिवार ३९.९ प्रतिशत रहेको छ । बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ र सबैभन्दा कम बाग्मतीमा ५४ रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले विषयगत प्रतिवेदनसहितको दुई पुस्तक सार्वजनिक गर्दै ४ सयभन्दा बढी जनसांख्यिक सूचक समेटेर तयार गरिएको पुस्तक नीतिनिर्माता, अनुसन्धानकर्ता, पत्रकारलगायत आमपाठकलाई उपयोगी हुने विश्वास व्यक्त गरे । तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को विस्तृत विवरण सार्वजनिक गर्ने क्रममा आगामी आठ महिनाभित्र १६ वटा विषयगत प्रतिवेदन तयार गरी बाहिर ल्याउन लागेको जानकारी दिए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । हरेक १० वर्षमा जनगणना गर्ने व्यवस्था भएबमोजिम यसअघि २०६८ सालमा लिएकोे जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।









