काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उनीमाथि लगाइएको भ्रष्टाचार आरोपको खण्डन गरेका छन् । घिसिङले बुधवार एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट आफूप्रति लक्षित गरी सुनियोजित रुपमा निरन्तर समाचार सम्प्रेषण गरेको र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहिता उल्लंघन गर्दै आफू र आफ्नो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रुपमा दूषित मनसायका साथ कपोकल्पित ढंगले भ्रमपूर्ण रुपमा समाचारहरु सम्प्रेषण गरिएको बताएका छन् ।

निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहित स्वार्थका साथ यस्ता समाचारहरु सम्प्रेषण भइरहेको भन्दै उनले त्यस्ता समाचारको भ्रममा नपर्न अनुरोध गरेका छन् ।

‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् । के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ?’ घिसिङले प्रश्न गरेका छन्, ‘मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रस्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन् ।’

प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात आफ्नो व्यक्तिगत जीवनलाई समेत पर्वाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताका साथ पूरा गरिरहेको पनि उनले बताएका छन् । ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयका साथ लगाइएका आरोपहरुको खण्डन गर्दछु ।’ विज्ञप्तिमा घिसिङले भनेका छन् ।

नेपाली जनतालाई सधैं लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, नेपाल विद्युत् प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवं उपलब्धिबाट अत्तालिएको पहिलेदेखि नै सक्रिय एउटा स्वार्थ समूहले आफूलाई कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रुपमा लागिरहेको उनले दाबी गरेका छन् । ‘प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम गरिएका खरिद सम्झौताहरु र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ,’ उनले भनेका छन् ।

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवं सक्षम बनाउने, विद्युत्, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत् व्यापार विस्तार गर्नेबाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको उनले बताएका छन् ।

‘स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेता पनि मेराविरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ,’ उनले भनेका छन् ।

नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रुपमा भइरहेको र अझै पारदर्शी रुपमा अगाडि बढाइने उनले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय