काठमाडौं– काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका पूर्वपदाधिकारी लगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पूर्जी जारी हुनेमा प्रजातन्त्रवादी नेता गणेशमान सिंहकी छोरी तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंहलगायत छन् । उनी २०४७ देखि २०७७ सम्म बाल संगठनको अध्यक्ष थिइन् ।

संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौं ।’ अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको सीआईबीले जनाएको छ ।

सीआईबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले बताए । नेपाल बाल संगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले २०४९ सालदेखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बदनियतपूर्वक म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

नक्सालमा रहेको करिब २८ रोपनी ५ आना १ पैसा जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय