काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६०.३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
वैशाख मसान्तसम्ममा चालुतर्फ वार्षिक विनियोजनको ६५.९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ वार्षिक विनियोजन भएकोमा हालसम्म ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ ।
पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७.०४ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ८८ करोड २९ हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२.६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ४५ लाख २२ हजार रुपैयाँ खर्च भएको हो ।
सो अवधिको कुल सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५८.२ प्रतिशत छ । चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा ८ खर्ब ५७ अर्ब दुई करोड ८० लाख रुपैयाँ असुली भएको छ ।
कर राजस्वतर्फ १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख रुपैयाँको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७.२१ प्रतिशत अर्थात् ७ खर्ब ४६ अर्ब ८३ करोड २८ लाख रुपैयाँ उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ लक्ष्य रहेकोमा ७२.७ प्रतिशत अर्थात् ८५ अर्ब १० करोड चार लाख रुपैयाँ असुली भएको छ ।
त्यस्तै ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।









