काठमाडौं– कामीरिता शेर्पाले ३०औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।

‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३०औं पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,’ सगरमाथा आधारशिविरबाट कार्यालय प्रमुख गौतमले सरकारी समाचार संस्था राससलाई भने । ‘वसन्त ऋतुको जारी आरोहणमा उहाँले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको छ।’

कामिरिताले दुई हप्ता नहुँदै आफ्नो २९औं रेकर्ड तोडेका हुन् । १० दिनअघि मे १२ मा उनले २९औं पटक सगरमाथाको चुचुरो टेकेका थिए ।

फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी ४ सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्। अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र ३ सय ३९ पुरुषसहित ४ सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय