बीरगन्ज (पर्सा)– नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र बीरगन्जले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट बिजुली जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकबाट उठाउन बाँकी रकम ३ अर्ब ४३ करोड २२ लाख २३ हजार ४६१ रुपैयाँ पुगेको छ ।
पोहोरभन्दा चालू आर्थिक वर्षको १० महिनामा बक्यौता रकम २७ करोड ८१ लाख ९७ हजार ४०० रुपैयाँले बढेको छ । यो बक्यौता रकम ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट बिजुली जोडेका पाँच उद्योगसहित अन्य औद्योगिक, घरासयी ग्राहक र सडक बत्ती बापतको हो ।
केन्द्रका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा औद्योगिक ग्राहकको बक्यौता रकम २ अर्ब २७ करोड १० लाख २२ हजार १९४ रुपैयाँ छ । त्यसैगरी सडकबत्तीको बक्यौता रकम २१ करोड २८ लाख ३५ हजार ५०६ रहेको छ । घरायसी ग्राहकको बक्यौता रकम पनि ५३ करोड ४५ लाख ६७ हजार १८७ रुपैयाँ रहेको छ ।
केन्द्रको गत आर्थिक वर्षको असार मसान्तसम्ममा बक्यौता रकम ३ अर्ब १५ करोड ४० लाख २६ हजार ४५७ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अबधेशकुमार दुबेले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा विद्युत् महसुल भुक्तानी नगर्ने ३ हजार ३९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए ।
‘वीरगञ्ज वितरण केन्द्र मातहत पाँचवटा ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट बिजुली लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो,’ उनले भने, ‘यो वर्ष हामीले कम्तीमा चार हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौं ।’ केन्द्रले बक्यौता मासिक नतिर्ने तीन सयभन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ ।
कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत महशुल तिर्नुपर्छ भन्ने चेतना अभावका कारणले पनि महशुल तिर्न आनाकानी गर्दै आइरहेका छन् । ‘करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित समयमा महसुल तिर्दै आइरहेका छन्,’ उनले भने, ‘छिमेकीले बिजुलीको महशुुल नतिरेपछि लाइन काटियो भन्ने हल्ला गाउँभरि फैलिएपछि मात्रै महशुल तिर्न आउने पनि भेटिन्छन् । त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आइरहेका छौं ।’
गत आर्थिक वर्षको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ अर्ब ३ करोड ६२ लाख ११ हजार ७६९ रुपैयाँ थियो । सोही वर्ष सडकबत्ती बापतको बक्यौता १८ करोड ६७ लाख ७८ हजार १० रहेको छ । घरासयी ग्राहकको बक्यौता रकम ५३ करोड ७४ लाख ५३ हजार ७८८ रुपैयाँ थियो ।









