काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रमाणपत्र र प्रतिलिपि प्रमाणपत्रमा हस्ताक्षर गर्ने दुई अधिकारीविरुद्ध धनुषा प्रहरीले पक्राउ पुर्जी लिएको समाचार बाहिरिएको छ ।

सिरोहियालाई प्रहरीले बुधबार हिरासतमुक्त गरिसकेको छ । उनको नागरिकतामाथिको अनुसन्धान भने जारी छ ।

उनलाई नागरिकता र प्रतिलिपि दिने तत्कालीन दुई अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको समाचार पर्दाफास डट कमले बाहिर ल्याएको छ । यो प्रकरणमा थप अनुसन्धानको लागि दुईजनालाई पक्राउ गर्न धनुषा प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको उक्त समाचारमा उल्लेख छ ।

सिरोहियालाई तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले वंशजको नागरिकता दिएका थिए । प्रतिलिपि तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् ।

सिरोहियाको नाममा जारी भएको नागरिकतामा कैफियत रहेको र त्यसमा दाहाल र भट्टराई संलग्न देखिएपछि उनीहरुलाई पक्रिन खोजिएको प्रहरीको भनाइ छ । प्रहरीले दाहालसँग यसअघि नै बयान लिइसकेको छ । प्राप्त प्रमाण र बयानबीच मेल नखाएपछि पक्राउको अनुमति दिएको स्रोतको हवाला दिँदै पर्दाफासले लेखेको छ ।

दाहालले धनुषा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई सिरोहियाको प्रतिलिपि नागरिकतामा भएको हस्ताक्षर आफ्नै भएको र जन्ममितिमा १८ वर्षसँगै ब्राकेटभित्र साल, महिना र गते लेखेको अक्षर पनि ‘आफ्नै जस्तो लागेको’बयान दिएका थिए ।

अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा पहिलोपटक नागरिकता जारी गरेका भट्टराईलाई समेत औपचारिक अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिएपछि अदालतसँग पक्राउका लागि अनुमति मागिएको प्रहरी स्रोतको भनाइ छ । दुईमध्ये भट्टराई वृद्ध तथा अस्वस्थ्य रहेकाले हिरासतमा लिएर अनुसन्धान गर्ने कि नगर्ने भन्ने टुंगो नलागेको प्रहरीका उच्च अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय