काठमाडौं– नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ ।
मंगलबार महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले यो स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा भएको बताए । दुई वर्षअघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारसामु प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रिपरिषद्ले पारित गरेको हो ।
सानो सानो लगानीमा नयाँ विचारका साथ केही व्यवसायहरु उदाउँदै गर्दा तिनको सञ्चालन कसरी र केका आधारमा भइरहेको छ भन्नेमा राज्यको चासोसँगै स्टार्टअपको परिभाषा र त्यसको नीतिबारे छलफल भएर स्टार्टअप नीति बनेको हो ।
नीति आउनु नेपाल उद्योग वाणिज्य महासंघ तथा समग्र निजी क्षेत्रका लागि अति नै महत्त्वपूर्ण रहेको महासंघको भनाइ छ । उक्त नीति आएको खुसियालीमा महासंघले उक्त नीतिले अंगीकार गरेका लक्ष्य, उद्देश्य, परिभाषा, रणनीति, कार्यनीति र कार्यक्रमबारे मंगलबार महासंघमा नीति संवाद आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समयदेखिको महासंघ स्टार्टअप एन्ड इन्नोभेसन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारियर आएकोले स्टार्टअप व्यवसायका लागि महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुसालले नीतिले अंगीकार गरेकोे स्टार्टअपको परिभाषा र स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरु, स्टार्टअप बर्ष २०३० र स्टार्टअप कर्जाहरुबारे प्रकाश पारेका थिए ।
कार्यक्रमका अन्य वक्ताहरुमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठनका कार्यकारी निर्देशक उमेशकुमार गुप्ता लगायत थिए । सबैले स्टार्टअप नीति २०८०, स्टार्टअप कर्जा सञ्चालन कार्यबिधि २०८० र अहिले कार्यान्वयन भइरहेको कर्जा वितरणको अन्तिम अवस्थाबारे आआफ्ना धारणा राखेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दे महासंघका केन्द्रिय सदस्य एवं वर्तमान स्टार्टअप एन्ड इन्नोभेसन फोरमका सभापति जुना माथेमाले नीति आउनु स्वागतयोग्य रहे पनि प्रचारप्रसार झन्ै महत्त्वपूर्ण रहेको बताइन् ।









