हेटौंडा– देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार नेपालको तेस्रो ठूलो ४००/२२०/१३२/११ केभी हेटौंडा सबस्टेसन उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अब छिट्टै तीन मुलुकका विद्युत् व्यापारमा संलग्न निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने र त्यसपछि नेपालको विद्युत् बंगलादेश निर्यात सुरु हुने बताए । बंगलादेश विद्युत् निर्यात सुरु हुने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्त्वपूर्ण हुने उल्लेख गरे ।
उनले भने, ‘केही दिनअघि समकक्षी सम्मानीय श्री नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने, सीमा समस्या, पञ्जेश्वर जलविद्युत् आयोजनाको कार्यान्वयन, व्यापार तथा पारवहनलगायतका विषयमा महत्त्वपूर्ण छलफल गरेको छु, यसबाट दुई मुलुकबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिएको छु ।’
उनले देशभित्र खपत गर्न नचाहेर भारततर्फ विद्युत् निर्यात गरिरहेको नबुझ्न सबैलाई आग्रह गरे । देशभित्र खपत बढाउन अझै पनि पूर्वाधार अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पूर्वाधार सुधार तथा विस्तार गर्ने र खपत गरी बढी बचत भएको विद्युत् निर्यात आवश्यक रहेको बताए ।
दाहालले अब विद्युत्को पहुँच मात्र होइन आन्तरिक रूपमा विद्युत्को खपत बढाउन पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् सेवा प्रवाहका लागि विशेष ध्यान दिएर उच्च प्राथमिकताका साथ काम गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए ।
‘हेटौंडा सबस्टेसनलाई ढल्केबर सबस्टेसनसम्म जोड्ने ४०० केभी प्रसारण लाइन निर्माणमा विगत ६÷७ वर्षदेखि अवरोध रहेको मैले जानकारी पाएको छु । यस्तो रणनीतिक महत्वको प्रसारण लाइन निर्माणमा बाधक नबनी साधन बनिदिन स्थानीयलाई आग्रह गर्दछु,’ उनले भने, ‘स्थानीय समुदायले उठाउनुभएका जायज मागलाई सम्बोधन गरी बाँकी काम तत्काल सम्पन्न गर्न पनि म सम्बन्धित पक्षलाई निर्देशित गर्दछु । साथै स्थानीय सरकार र प्रशासनलगायत सम्वन्धित निकायहरूलाई विकास निर्माणको कार्यमा आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्दछु ।’
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्रको विद्युत् उपभोग क्षमता वृद्धि गरी बचत भएको विद्युत् निर्यात गर्ने गर्ने र ऊर्जामा आत्मनिर्भर बन्ने योजनाकासाथ काम अगाडि बढाइएको बताए । मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा रहेको मार्गधिकारको समस्या समाधान गर्न जलविद्युत आयोजनामाजस्तै प्रभावितहरुलाई सेयर उपलब्ध गराउने गरी कानुनी व्यवस्था गर्न लागिएको उल्लेख गरे । साथै, मार्गधिकारमा परेका जग्गाको कित्ताकाटको समस्या नीतिगत रुपमै सम्बोधन गर्न काम भइरहेको बस्नेतले बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मकवानपुरका संघीय सांसदहरु दीपक बहादुर सिंह र महेश बर्तौलाले स्थानीयका जायज मागलाई सम्बोधन गरी विकास आयोजनाहरु अगाडि बढाउनु पर्नेमा जोड दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत ७/८ वर्षको तुलानामा अहिले विद्युत् उत्पादन, प्रसारण र वितरणको क्षेत्रमा गुणात्मक फड्को मारिएको बताए । जग्गा प्राप्ति ऐनमा अध्यादेशमार्फत गरिएको संशोधनले प्रसारण लाइनको निर्माणमा जग्गा प्राप्तिको समस्यालाई झनै जटिल बनाएको उल्लेख गर्दै उक्त संसोधन गरिएको व्यवस्थालाई संसदबाट कानुन बनाउँदा विशेष ध्यान दिन अनुरोध गरे ।
प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको बताए ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने उनको भनाइ छ ।









