त्रिवेणी (नवलपरासी)– बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै सिजनमा ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

मध्यबिन्दु नगरपालिका–३ ब्रह्मस्थानमा तीन वर्षदेखि कुरिलोखेती गरिरहेका मोक्तानले वार्षिक १६ लाख रुपैयाँसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । सबै खर्च कटाएर ७ लाख रुपैयाँ नाफा कमाएको उनले बताएका छन् ।

हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन् । ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ,’ उनले भने । दैनिक ८० देखि १०० केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ ।

गत वर्ष ३० कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनी बताउँछन् । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी ३०६ र थोकमा मूल्य २५० छ ।

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् । विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा छन् । उनको बारीमा कुरिलोसँगै घिरौला, भिन्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलो खेतीबाट अधिक आम्दानी हुने गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय