काठमाडौं– अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । यसअघि जेठ ३० गते डलरको बिक्री मूल्य १३४ रुपैयाँ १ पैसा कायम भई कीर्तिमान बनेको थियो । राष्ट्र बैंकले शुक्रबारका लागि डलरको खरिद दर भने १३३ रुपैयाँ ५५ पैसा तोकेको छ ।
खुला बजारमा डलरको खरिद र बिक्री मूल्य केन्द्रीय बैंकले तोकेभन्दा तलमाथि हुन सक्छ । भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर छ । त्यसकारण भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर र बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो बन्छ ।
अमेरिकी डलरको मूल्य वृद्धिबाट नेपाललाई नाफा घाटा दुवै छ ।
डलरको मूल्य वृद्धिबाट सबैभन्दा बढी फाइदा विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने परिवारलाई हुन्छ । नेपालका ७६.८ प्रतिशत परिवारले रेमिट्यान्स प्राप्त गर्छन् । यसमा स्वदेशभित्रै र विदेशबाट प्राप्त हुने दुवै रेमिट्यान्स समेटिएको छ ।
नेपाली परिवारले प्राप्त गर्ने कुल रेमिट्यान्समा विदेशबाट प्राप्त हुने रेमिट्यान्सको हिस्सा ७०.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयको भनाइ छ ।
विदेशी मुद्रामा भुक्तानी लिने पर्यटन क्षेत्र पनि डलरको मूल्यवृद्धिबाट लाभान्वित हुन्छ । डलरको मूल्य बढ्दा रेमिट्यान्स र पर्यटन क्षेत्रको आय बढ्छ । विदेशी मुद्रामा भुक्तानी लिने गरी वस्तु र सेवा निर्यात गर्नेहरुलाई पनि डलरको मूल्य बढ्दा बढी फाइदा हुन्छ ।
आयातित वस्तुका उपभोक्ता, विदेशबाट यन्त्र उपकरण आयात गर्नुपर्ने परियोजना र सरकारलाई भने डलरको मूल्य बढ्दा घाटा हुन्छ । यसले आयातित वस्तुको लागत बढ्न गई बजारमा महँगी बढ्छ । यसबाट आम उपभोक्ता प्रभावित हुन्छन् ।
आयातित यन्त्र उपकरण प्रयोग गर्नुपर्ने परियोजनाको लागत बढी पर्न जान्छ । त्यसैगरी विदेशी ऋणको साँवाब्याज भुक्तानी गर्नुपर्ने सरकारले सोको लागि आवश्यक पर्ने विदेशी मुद्रा बढी रकम तिरेर खरिद गर्नुपर्ने हुन्छ ।