काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन गर्ने भएको छ । बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरिए पनि प्राविधिक काम बाँकी रहेकोले बिहीवार मात्रै नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

बिहीबार नै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको र अहिले त्यसकै डेमो चलिरहेको उनले जानकारी दिए । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भएपछि भोलि बिहान बिहान ७ बजे फेरि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

एसइई गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो । उक्त परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्दै छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गर्ने बताइएको छ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा २६.२५ अंक नल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । त्यस्ता विद्यार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउँदैनन् ।

कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय