काठमाडौं– टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान)को टोली काठमाडौंदेखि थाइल्यान्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्यान्ड प्रस्थान गरेको छ ।
टिबान अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्यान्ड प्रस्थान गरेको छ । त्यहाँ रहँदा थाइल्यान्डदेखि काठमाडौंसम्म पर्यटकीय बस सञ्चालनबारे पर्यटन व्यवसायी तथा सरकारी निकायसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आचार्यले कम्बोडियामा समेत पर्यटन प्रवर्द्धबारे छलफल गर्ने कार्यक्रम रहेको बताए । सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा त्यो पूरा गर्न यस्ता भ्रमणले सहयोग पुग्ने उनको विश्वास छ ।
टिबानले हाल काठमाडौंदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गराउँदै आएको छ । नेपालको काँकरभिट्टा नाकादेखि थाइल्यान्डको बैंककसम्म ३ हजार ३७७ किलोमिटर दुरी छ । थाइल्यान्डको बैंककबाट नेपाल आउन बर्मा, बंगलादेश, भारत हुँदै काँकरभिट्टा नाकाबाट प्रवेश गर्न सकिन्छ ।