काठमाडौं– नयाँ सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले शपथग्रहण गरेकै दिन सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्या बढाएको हो ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १६८ रुपैयाँ ५० पैसा, १७० र १७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ र १६० रुपैयाँ कायम भएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं पोखरा र दीपायल पर्छन् । निगम सञ्चालक समितिको आजको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ४८ पैसा र डिजेल २ रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय