काठमाडौं– काठमाडौं महानगरको श्रम बैंकमार्फत ३२९ जनाले निजी तथा ५८३ जनाले सरकारी क्षेत्रमा रोजगारी पाएको महानगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।

काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५,००० जनालाई तालिम तथा ५,००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको थियो। यसको सुरूवात भएको आर्थिक बर्ष २०८०–८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेको महानगरले जानकारी दिएको छ । ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९१२ जनाले रोजगारी पाएका छन्,’ महानगरप्रमुख शाहले भनेका छन् ।

तीमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार र स्वरोजगार भएका छन् ।

महानगरको सानो प्रयासले १ आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली रोजगार र स्वरोजगार बनेको पनि बालेनले बताएका छन् । ‘यद्यपि यो हाम्रो लक्ष्यभन्दा धेरै सानो संख्या हो । आर्थिक वर्ष २०८१–८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेका छौ,’ शाह भन्छन्, ‘सीप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ । समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौं।’

व्यवसाय, संघसंस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौं प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंकमार्फत सम्पर्क गरी सेवा लिन सक्ने पनि शाहले जानकारी दिएका छन् । एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा सिलेबसमा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय