काठमाडौं– गत आर्थिक वर्ष २०८०–८१ मा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्यांकअनुसार १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको देखिएको हो ।
विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । आर्थिक वर्ष २०७९–८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात र १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख बराबरको निर्यात गर्दा कुल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।
अघिल्लो वर्षको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबर थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष आयात १.१६, निर्यात ३.०३, समग्र वैदेशिक व्यापार १.३३ र वैदेशिक व्यापार घाटा ०.९६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको आयात–निर्यात अनुपात १०.४५ प्रतिशत बराबर छ । गत वर्ष सबैभन्दा धेरै भारतसँग व्यापारघाटा देखिएको छ । भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा १ खर्ब ३ अर्ब १७ करोड बराबरको मात्रै निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कुल व्यापार घाटा ८ खर्ब ९३ अर्ब ५० करोड बराबर छ ।
नेपालको अर्को छिमेकीमुलुक चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ । चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकहरुमा संयुक्त अरब इमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौं स्थानमा छ ।
व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आर्थिक वर्ष नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख बराबरको निर्यात गरेको छ । जसबाट ४६ करोड ७५ लाख रुपैयाँ व्यापार नाफा देखिएको हो ।
बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट २ करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ । जसबाट अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्यांकअनुसार गत आवमा १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । ३९ अर्ब तीन करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ ।
त्यस्तै २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैंची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आर्थिक वर्षमा नेपालले सबैभन्दा धेरै १० अर्ब ५७ करोड २४ लाख रुपैयाँ बराबरको कार्पेट र ७ अर्ब ९३ करोड ८१ लाख बराबरको अलैंची निर्यात गरेको छ ।









