काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३.४२ अंक (४.४१ प्रतिशत)ले बढेर २६८१.५६ को विन्दुमा कायम भएको छ ।

यस दिन ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार कित्ताभन्दा बढी सेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिनको कारोबारमा लघुवित्त समूह ०.१८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैंकिङ समूह ९.८९ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह ५.७५ र विकास बैंक समूह ४.८७ प्रतिशतले बढेको छ ।

आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन् । नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल एसबिआई, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल, कृषि विकास, एभरेस्ट र नेपाल बैंक लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ३६ करोड १० लाख बराबरको १७ लाख ६ हजार ५८२ कित्ता सेयर किनबेच भएको छ ।

आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक १ प्रतिशत विन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय