काठमाडौं– मंगलबार १४५ बिन्दुभन्दा धेरैले ओरालो लागेको सेयर बजार बुधबार १०८.३५ बिन्दुले बढेको छ । तर कारोबार रकम एक तिहाइले खुम्चिएर १७ अर्ब ९५ करोड रुपैयाँभन्दा केही बढी कायम भएको छ । अघिल्लो दिन मंगलबार शेयर बजार घटे पनि कारोबार रकमले कीर्तिमान कायम गरेको थियो ।
मंगलबार २३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार भएको थियो । बुधवार बजार बन्द हुँदा सेयर बजारको सूचक नेप्से २७५९.६७ अंकमा पुगेको छ । बुधबार ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।
बुधबार कारोबार रकमको हिसाबले हिमालयन रिइन्सुरेन्स कम्पनी अगाडि छ । यस कम्पनीको १ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर परेका छन् । विगत एक महिनादेखि बढ्न थालेको बजारमा लगानीकर्ताहरु नाफा बुक गर्नतर्फ लागेको बुधबारको कारोबारले देखाउँछ ।
मंगलबार सेयर बजार मूल्य ओरालो लागेपछि बुधबार लगानीकर्ताका विभिन्न संघसंस्थाले सेयर बजारविरुद्ध अभिव्यक्ति दिने सांसदको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । पूर्वअर्थमन्त्री तथा सांसद डा. प्रकाशकरण महत, सांसद अमरेशकुमार सिंहले सेयर मूल्यमा पछिल्लो समय देखापरेको वृद्धि कृत्रिम भएको अभिव्यक्ति दिएका थिए ।









