काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण समेटिएको तथ्यांक आज बुझाएको छ ।
समितिले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टिओडी) मिटरको सबै विवरण पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिए ।
‘टिओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट २४ घन्टा विद्युत् उपभोग गरेका उद्योगीलाई अतिरिक्त महशुल छुट दिन खोलेका छन् । उनले उक्त महशुल नतिरेका कारण काटिएको बिजुलीको लाइन जोड्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुका साथै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुसँग बिनाप्रमाण अतिरिक्त महशुल उठाउन खोजेको आरोप लगाएका थिए ।
पाँच दर्जन जति उद्योगीले पनि आफूहरुले प्राधिरकणले दाबी गरे जसरी लोडसेडिङको बेला ट्रंक लाइन र डेडिकेटेड फिडरबाट बिजुली नलिएको दाबी गरेर लिएको प्रमाण दिए मात्रै महशुल तिर्ने बताइरहेका छन् ।
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समेत यो प्रकरणमा कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमितताको आरोपमा छानबिन गर्न प्रहरी र राजस्व अनुसन्धान विभागलाई निर्देशन दिन एउटा प्रतिवेदन तयार गराएका थिए ।
प्राधिकरणले १ लाख पानाभन्दा बढी कागजात लेखा समितिमा बुझाएको बताइएको छ । प्राधिकरणले टीओडी मिटरको विवरण बुझाएसँगै राजनीतिक शक्ति केन्द्रको आडमा विद्युत् महशुल नतिर्न खोजेका उद्योगीका लागि महशुल नतिर्ने बहाना सकिनेछ । उनीहरुले प्राधिकरणसँग टीओडी मिटरको विवरण मागिरहेका थिए ।









