काठमाडौं– धितोपत्रको दोस्रो बजारको कारोबार रकमले सोमबार पनि कीर्तिमान कायम गरेको छ । आइतबार २५ अर्ब ७७ करोडको केयर खरिदबिक्री भएर कारोबार रकममा कायम भएको अलटाइम हाइ रेकर्ड सोमबारै तोडिएको छ । दोस्रो बजारमा सोमबार २७ अर्ब रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच भएको छ ।
सोमबार नेप्सेमा ३३९ धितोपत्र २ लाख ८३ हजार ४७ पटक किनबेच हुँदा कारोबार रकम २७ अर्ब २४ करोड २० लाख रुपैयाँ पुगेको हो । यस दिन ६ करोड ४८ लाख ७६ हजार कित्ता धितोपत्र किनबेच भएको छ ।
सोमबार बजार बन्द हुँदा धितोपत्र बजारको तथ्यांकीय सूचक नेप्से २९३१.६५ बिन्दु छ । यो अघिल्लो दिनको तुलनामा साढे २ प्रतिशतको वृद्धि हो । आइतबार साढे ९४ अंक बढेको नेप्से सोमबार ७०.८१ अंक बढेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इन्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.०६ अंक बढेको छ ।
सोमबार ११ धितोपत्र सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको धितोपत्र सकारात्मक सर्किट लेवलमा कारोबार भएको हो । यस दिन कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर भने ऋणात्मक सर्किट लेवलमा कारोबार भएको छ ।
सोमबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । यस कम्पनीको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रो नम्बरमा रहेको शिवम् सिमेन्टको कारोबार रकम ९२ करोड नाघेको छ । नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको घटेको छ । यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ । वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।









