कास्की– धितोपत्रको दोस्रो बजारमा सूचीकृत भिजन लुम्बिनी ऊर्जा लिमिटेडको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।

‘आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौं । त्यसपछि वेट टेस्ट (पानी भरेर परीक्षण तथा टर्बाइन घुमाउने)को काम सुरु हुन्छ,’ प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले  ।

‘वेट टेस्ट’को काम सकिएको दुई साताभित्र परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्बाइनमा खसालिनेछ । सो आयोजना नदी प्रवाहमा आधारित हो ।

कम्पनी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताए । उनले भने, ‘जलविद्युत‘मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । १ हजार ५०० जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौं, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दै छ ।’

सेती नदी जलविद्युत् आयोजनामा ५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यसमा ३ अर्ब ५० करोड बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपीओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए । सेती नदी जलविद्युत् आयोजनाको काम २०७७ सालको अन्तिमतिर सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय