काठमाडौं– आर्थिक वर्ष २०८०–८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले आर्थिक गत असार मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको जानकारी दिएको छ ।
विभिन्न समूह र उपसमूहको मूल्य वृद्धिदर कम हुँदा समग्र महँगी वृद्धिदर घटेको हो ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य वृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ र यातायात उप–समूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको केन्द्रीय बैंकको भनाइ छ ।









