काठमाडौं– झन्डै एक वर्षदेखि प्रतिबन्धित टिकटक खुल्ने भएको छ । वर्तमान सरकारले लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
सामाजिक सद्भाव भड्काएको, अश्लीलता फैलाएको लगायत आरोप लगाउँदै पूर्ववर्ती सरकारले गत वर्ष कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
टिकटकमाथि प्रतिबन्ध लागेपछि यसको माउ चिनियाँ कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गर्न बारम्बार ताकेता गर्दै आएको थियो । प्रतिबन्ध प्रस्ताव सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको छ । आजै बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गर्ने अपेक्षा गरिएको छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि टिकटक खुल्नेछ । मन्त्रिपरिषदको स्वीकृति लिएर सञ्चार मन्त्रालयले आचार संहितासमेत बनाउने तयारी गरेको छ ।
सञ्चार मन्त्रालयका अनुसार सामाजिक सद्भाव नबिथोल्ने र अश्लीलता नभड्काउने गरी निर्देशिकाको प्रावधानमा आधारित रहेर टिकटक चलाउन पाइने व्यवस्था हुनेछ ।
चिनियाँ कम्पनी नेपालमा दर्ता गरेर र सरकारले तोकेको आचारसंहिता पालना गरेरै टिकटक चलाउनुपर्ने सर्त स्वीकार्न तयार भएपछि सरकारले प्रतिबन्ध हटाउन तयार भएको बुझिएको छ । कतिपय टिकटक प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भन्दै आलोचना समेत गरिरहेका छन् । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेको छ । ती रिटलाई एकै पटक हेर्ने गरी आगामी असोज १० गतेका लागि पेसी तोकिएको छ ।









