काठमाडौं– गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा आयोजित कार्यक्रममा माननीय गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य राम नारायण बिडारी र पूर्व महान्यायधिवक्ता अग्नि प्रसाद खरेललाई आमन्त्रण गरिएको थियो ।

सो अवसरमा सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेतापनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै ध्यानाकर्षण गराइएको थियो । संविधानतः गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरिरहेको भए पनि त्यसमा उल्लेखित अधिकारहरु प्राप्त भएका छैनन् । गैरआवासीय नेपाली नागरिकता लिने क्रममा सम्बन्धित निकायहरुमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता लिनको लागि समस्या भएको छ भने नागरिकता प्राप्त गरिसकेपछि पनि सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारको पूर्ण प्रयोग गर्न पाइएको छैन।

कार्यक्रममा अध्यक्ष डा. केसीले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तिको लागि बाटो खुला गरेको भए पनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए। उक्त अवसरमा गृहमन्त्री लेखकले सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्दै सम्बन्धित निकायमा छिट्टै आवश्यक परिपत्र गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमका अन्य वक्ताले समेत गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखापरेका कानुनी अड्चन हटाउन सक्दो पहल गर्ने बताए । उक्त अन्तरक्रियामा नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफल गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीसहित, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना, एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई, सल्लाहकार अतुल कोइराला, संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, पूर्वउपाध्यक्ष (एनसीसी बेल्जियम) तीर्थ धमला, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत अधिकृत कुनाल मिश्र, संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकल पर्सन सरोज दाहाल लगायतको उपस्थिति रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर