काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्ण र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) भुपराज पराजुलीबीच द्वन्द्व सुरु भएको छ ।
व्यवस्थापनको उच्च तहका अधिकारीबीचको द्वन्द्वले कर्मचारीबीच विभाजन आउने, गुटबन्दी सुरु हुने र लाखौं सेयरहोल्डरको लगानी रहेको कम्पनीको व्यवसायमै प्रतिकूल असर पर्न सक्ने देखिन्छ ।
कम्पनीले कोशी प्रदेश प्रमुख रहेका एसीईओ पराजुलीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरेपछि विवाद सुरु भएको हो । कम्पनीले पराजुलीलाई साउन अन्तिम साता कोशीबाट सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय गरेको थियो । उक्त सरुवालाई पराजुलीले पेलाइको रुपमा लिएका छन् ।
कम्पनी स्रोत भने सातै प्रदेशका प्रमुखमध्ये सबैभन्दा कमजोर कार्यसम्पादनका कारण पराजुलीलाई सुदूरपश्चिम सरुवा गरेको दाबी गर्छ ।
पराजुली भने उक्त आरोप स्वीकार्न तयार छैनन् । ‘मभन्दा माथि जम्मा ३ जना अधिकारी छन् । म सक्षम छु, सिस्टममा काम गर्ने मान्छे हुँ । राम्रो कार्यसम्पादनकै कारण कैयौंपटक कम्पनीबाट सम्मानित भएको छु । मलाई जुन ठाउँमा सरुवा गरियो त्यो ठाउँमा मेरो लेवलको मान्छे आवश्यक नै पर्दैन ।’ पाँच वर्षदेखि सहायक सीईओ पदमा रहेको व्यक्तिलाई बढुवा गर्नुपर्नेमा घटुवा गर्न खोजेकोले सरुवाप्रति आपत्ति जनाएको उनले बताए ।
कम्पनीका पराजुलीइतर अधिकारीहरु भने उनी तोकिएको जिम्मेवारी सम्हाल्न सुदूरपश्चिम प्रदेश कार्यालयमा जानुको साटो कर्मचारी, पीएच, डीपीएचबीच गुटबन्दी गर्ने र आफ्नो सरुवा रोक्ने प्रयासमा लागेको आरोप लगाउँछन् ।
सरुवामा परेका पराजुलीले यसलाई द्वन्द्वको रुपमा लिन नहुने पनि बताए । आर्थिक पेजसँगको कुराकानीमा उनले भने, ‘कम्पनीमा आन्तरिक द्वन्द्व भइरहन्छ । यो सामान्य कुरा हो ।’ एसीईओ पराजुलीले सरुवा गरेको ठाउँमा नगएपछि कम्पनीले भदौ पहिलो साता उनीसँग स्पष्टीकरण सोधेको थियो ।