फिक्कल (इलाम)– इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएबापत ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो ।
देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए ५ हजार पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०–८१ मा नगरभित्रका २२७ सुत्केरीले देउमाई नगरपालिकाबाट ११ लाख ३५ हजार हजार पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरु सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।
देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा नगरभित्र स्थायी रुपमा बसोबास गरेका ३१२ सुत्केरीलाई १५ लाख ६० हजार पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनैपनि स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।
गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागू गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उनको भनाइ छ ।
त्यसैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत ५ हजार सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०–८१ मा देउमाईका २०४ जना मृतकका परिवारले १० लाख २० हजार रुपैयाँ दाहसंस्कार खर्च प्राप्त गरेका थिए ।
घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेस गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताए । देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा नगरभित्रका १९० मृतकका परिवारलाई ९ लाख ५० हजार दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।









