तम्घास (गुल्मी)– जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

यही भदौ १० गते राति हावाहुरीसँगै आएको चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिए।

विद्युत् अवरुद्ध हुँदा गाउँमा दैनिक काममा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायत काममा बाधा पुगेको उहाँले बताउनुभयो । वितरण केन्द्रले मर्मत गरिरहेको छ ।

अहिलेसम्म उनायचौरको विद्युत् स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको सूचना अधिकारी पोखरेलले जानकारी दिए । उनायचौरबाट जैसीथोकको भुवानसम्म मात्रै ६ ठाउँमा बिग्रिएका मर्मत भइरहेको उनले बताए।

कार्यालयका प्राविधिक वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याउन मर्मतको काममा खटिएकाले बुधवार साँझसम्ममा विद्युत् आपूर्ति सुचारु हुने सम्भावना रहेको पोखरेलले जानकारी दिए । गुल्मीको पश्चिमी भेगका लागि वीरवासबाट उनायचौर हुँदै वस्तु सबस्टेसनसम्म विद्युत् पुर्याइएको छ । वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर