वासिंगटन डिसी (अमेरिका)– अमेरिकी प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बबिसिं शाहलाई पक्राउ गरेको छ। पाण्डेको टेक्सासको ह्युस्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्या अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
ह्युस्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेस्ट एयरपोर्ट ब्लुबर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेको जनाइएको छ ।
त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए । प्रहरीले बुधबार मात्र शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न प्रहरी सफल भएको थियो ।
नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।









