काठमाडौं– पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान)को अध्यक्षमा भीष्मप्रसाद न्यौपाने निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न टिबानको १३औं वार्षिक साधारणसभा एवं सातौं अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुन् ।
यस्तै, एसोसिएसनको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिए। कोषाध्यक्षमा चिरञ्जीवी गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे भएको निर्वाचन संयोजक आचार्यले बताए ।
टिबानमा आवद्ध व्यवसायीले संघीय राजधानी काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा पर्यटक बससेवा प्रदान गर्दै आएका छन् ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताए। यस्तै पर्यटक बस सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा आफू लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।