राँझा (बाँके)– नेपाल कम्युनिस्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व त्याग्न आफू तयार नरहेको स्पष्ट सन्देश दिएका छन् । चार दशकदेखि पार्टीको सुप्रिम कमान्डर रहिआएका उनले आफूलाई नेतृत्व नछाड्न कार्यकर्ताको दबाब रहेको र अझै केही तयारी गरेर मात्र नेतृत्व हस्तान्तरण हुने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री रहेका दाहालले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको पनि बताए । प्रेस सेन्टर बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताए ।
‘म सधैंभरि नेतृत्वमा रहिरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।’
पार्टी पंक्तिमा भने एउटै व्यक्ति नेतृत्वमा रहिरहँदा तल्लो तहका नेताहरुको उत्साह मर्ने र नेतृत्वमा पुस्तान्तरण नहुने भनदै प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने दबाब छ ।
आफूलाई अध्यक्ष भइरहने रहर नभएको उनले दाबी गरे । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनको भनाइ छ । ‘अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ,’ उनले भने, ‘तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पंक्तिको ठूलो प्रेसर छ ।’
पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उनले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उनले उल्लेख गरे । ‘हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो,’ उनले भने, ‘त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताए । उनले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाए ।
प्रेस सेन्टर बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाललगायत नेताहरूको सहभागिता थियो ।