पर्सा– देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।
गत आर्थिक वर्ष २०८०–८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको साउनमा वीरगन्ज नाकाबाट ४६ करोड ७७ लाखका ३ हजार ५७१ थान मोटरसाइकल आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आर्थिक वर्षको साउनमा भने ९४ करोड ४८ लाखका ७ हजार १५० थान मोटरसाइकल आयात भएका छन् ।
वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनमा २० करोड ६० लाखका २२७ थान जिप र कार आयात भएका थिए भने चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात भएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याएर नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्बल गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए ।
गत आर्थिक वर्षको साउनमा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।