काठमाडौं– दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मीरा बायोटेक लिमिटेडले पुँजी वृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ । सो कम्पनीले पुँजी वृद्धि र आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरीसम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा एलिट क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मीरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहले हस्ताक्षर गरेको एलिट क्यापिटलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण कोरियाको इयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मीरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राइभेटबाट पब्लिकमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ । कम्पनीले २० प्रतिशत सेयर आम सर्वसाधारणलाई विक्री गर्ने योजना बनाएको छ ।
नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकहरुको पहलमा स्थापित मीरा बायोटेक अन्तराष्ट्रिय स्तरको क्रोनिक सेग्मेन्टका औषधी उत्पादन गर्ने कम्पनी हो । हाल यस कम्पनीले करिब २ दर्जन ब्रान्डका औषधी उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील पौडेलले जानकारी दिए ।
हाल ५२ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले चुक्ता पुँजी वृद्धि गर्दैछ । पुँजी वृद्धिपछि उक्त कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाइजरी सम्झौता गरेको हो ।
एलिट क्यापिटलले एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजना अन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पुँजी वृद्धि र व्यावसायिक प्रवद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ । मीरा बायोटेकलाई पनि आईपीओ निष्कासनअघि पुँजी वृद्धि, ब्रान्डिङ र बजारीकरणका लागि वित्तीय व्यवस्थापकीय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अन्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।
भक्तपुरका चाँगुनारायणमा आफ्नै जग्गा र भवनमा मीरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ । यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।
ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लुएचओ जीएमपी) प्लान्ट डिजाइन, उत्पादन, र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । ईयूबी सँगको आवद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ ।
नेपालको औषधी उद्योगमा विशेष पहिचान बोकेको भनिएको उक्त कम्पनीले कोरियन कम्पनीसँगको साझेदारीमा अफ्रिकी मुलुकमा समेत औषधी निर्यातको प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ । यस कम्पनीमा प्राइभेट इक्विटी संस्था बिजनेस अक्सिजनले समेत ठूलो लगानी गरिसकेको छ ।
हालसम्म नेपालको सेयर बजारमा औषधीजन्य उद्योग एउटा पनि सूचीकृत छैन । दुईवटा फर्मास्युटिकल्स कम्पनीहरु आईपीओ प्रक्रियामा छन् । धितोपत्रको दोस्रो बजारमा यसअघि सूचीकृत कम्पनी भने बन्द भइसकेका छन् ।