काठमाडौं– नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको संघको भनाइ छ ।
निर्जीवन बीमा व्यवसायी संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेयर विक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सबै सेयरधनी जस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा उनीहरुमाथि यति कठोर भेदभाव गरिनु न्यायोचित नभएको जानकारी गराउँदछौ ।’
संघका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहरदास मूल, महासचिव महेन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष रमेश निरौला तथा सदस्यहरु आजाद श्रेष्ठ र कुनाल कयाल नेतृत्वको टोलीले धितोपत्र बोर्डका अध्यक्ष महेश बराललाई सो प्रावधान सच्याउन आग्रह समेत गरेको छ ।
लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए । सञ्चालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरुलाई वञ्चित गर्नु न्यायोचित नभएको संघले उल्लेख गरेको छ ।
कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म विक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’