काठमाडौं– पछिल्लो २०–२२ घन्टामा प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा फलोअर्सको संख्या लगभग ७५ हजारले घट्यो । काठमाडौं महानगरका मेयर बालेनको फेसबुक फलोअर्सको संख्या यही अवधिमा १ लाखले बढेको छ । मंगलबार २० लाख रहेको बालेन समर्थकको संख्या बुधबार २१ लाख पुगिसकेको छ । प्रधानमन्त्री ओलीका फेसबुक पेज फलो गर्नेको संख्या भने मंगलबारको ६ लाख ६६ हजारबाट बुधबार दिउँसो साढे २ बजेतिर ५ लाख ९२ हजारमा ओर्लेको छ ।
आखिर के हो त यसको अन्तर्य ?
काठमाडौं महानगरपालिकाले गत जेठ १४ गते ओली अध्यक्ष रहेको नेकपा (एमाले)को लुम्बिनी प्रदेससभा सदस्य रेखा शर्माको काठमाडौंस्थित घरबाट एक बालिकाको उद्धार गरेर आफ्नो सेल्टरमा राख्छ । रेखाको घरमा ती बालिकाको श्रम शोषण भएको महानगरले दाबी छ ।
महानगरले बालिकाको उद्धार गरेपछि बालिकाका बुवाले महानगरले गैरकानुनी तरिकाले आफ्नी छोरीलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्छन् । सर्वोच्चले उनको रिट खारेज गर्दै परिवारका सदस्यले भेट्न पाउने गरी महानगरलाई नै ती बालिकाको पालनपोषण गर्न आदेश दिन्छ ।
अदालतको उक्त आदेशपछि महानगरले श्रम शोषण गरेको भन्दै प्रदेशसभा सदस्य शर्मालाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरमा निवेदन दिन्छ । शर्मा त्यसपविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर उच्च अदालत पाटन पुग्छिन् । उच्च अदालतले उनको रिट खारेज गर्छ ।
त्यसपछि पनि शर्मामाथि अनुसन्धान प्रक्रिया सुरु नभएपछि महानगरप्रमुख बालेनले सामाजिक सञ्जालबाट आक्रोश पोख्छन् । बालेनले गत आइतबार फेसबुकमा रेखा शर्मालाई पक्राउ नगर्नुको कारण सोध्दै फेसबुकमा शर्माको फोटोसहित एउटा पोस्ट गरेका थिए । उनले उक्त पोस्टमा प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका छन् ।
बालेनले सांसद शर्माले एकजना नाबालिकालाई आठ वर्षसम्म घरेलु कामदारको नाममा हिंसा गर्दै आएको, दैनिक कुटपिट गरेको, महानगरले दुई महिनादेखि कारबाही गर्न आग्रह गर्दा पनि सरकारले शर्मालाई नपक्रेको भन्दै बालेनले असन्तुष्टि पोखेका थिए ।
उक्त स्टाटसमा उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अदालतले पक्राउ गर्न आदेश दिएको बालशोषणको आरोप लागेकी सांसदलाई समाउने कि नसमाउने भनेर सोधेका थिए ।
बालेन उक्त पोस्टविरुद्ध एमालेको भातृसंगठन अनेरास्ववियूका अध्यक्ष समिक बडाल उत्रिन्छन् । बडालले शर्माको विषयलाई बालेनले तोडमोड गरेको आरोप लगाउँछन् ।
एमाले समर्थकहरू शर्माको पक्षमा र बालेनको विपक्षमा सामाजिक सञ्जालमा उत्रिन थालेपछि बालेनले अर्को स्टाटस लेख्छन् । मेयर बालेन सोमबार स्टाटस लेख्छन्, ‘बालिकाले त्यहाँ आएदेखि नै विगत आठ वर्षदेखि आफ्नो जैविक बाबुआमा नभेटेको, घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउनेलगायत काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, तेरो मुख जलाइदिन्छु भनी धम्की दिने गरेको भन्ने खुल्न आयो ।’
प्रदेशसभा सदस्य शर्माले नै बालिकाका बुवालाई उक्साएर सर्वोच्च र उच्च अदालतमा रिट हाल्न लगाएको आरोप पनि बालेनले लगाएका छन् । बालेनले प्रधानमन्त्री ओली विनाज्ञान देश चलाउने ठाउँमा पुग्दा अरुको इशारामा चल्ने गरेको आशय झल्किने गरी लेख्छन्, ‘प्रधानमन्त्री खडकप्रसाद ओलीज्यू, तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।’
सोमबार बालेनको फेसबुक पेजमा यस किसिमको पोस्टपछि एमाले समर्थकहरू उनीप्रति आक्रोशित बन्छन् । यहीबीचमा मंगलबार बालेनको फेसबुकबाट शर्मालाई किन पक्राउ नगरेको भन्दै ओलीलाई प्रश्न गरिएको पोस्ट हट्छ ।
यसलाई एमाले कार्यकर्ताले बालेनले गलत कुरा पोस्ट गरेकोले आफैं हटाएको रुपमा प्रचार गर्छन् । बालेनको सचिवालयले धरैजनाको ‘रिपोर्ट’का कारण फेसबुकले नै उक्त पोस्ट हटाएको प्रस्ट पार्छ ।
आफ्नो पोस्ट फेसबुकले ‘रिमुभ’ गरेपछि बालेन आक्रोशित हुँदै अर्को पोस्ट लेख्छन्, ‘पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’ मंगलबार साँझ बालेनले फेसबुकमा यस्तो पोस्ट देखिएपछि सामाजिक सञ्जालमा सुरु हुन्छ– ओलीको फेसबुक पेज अनफलो गर्ने अभियान ।
फेसबुकमा सक्रिय रहेको मेन्स रुम रिलोडेड (एमआरआर) ग्रुपका सदस्यले ओलीविरुद्ध अनफलो अभियान नै चलाउँछन् । प्रधानमन्त्री ओलीका फलोअर्स घटिरहँदा बालेनका फलोअर भने बढिरहेका छन् । यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री ओलीको फलोअर संख्या ६ लाख ६६ हजारबाट घटेर ५ लाख ९२ हजार कायम भएको छ भने मेयर बालेनको फेसबुक फलोअर २ मिलियनबाट बढेर २.१ मिलियन पुगेको छ ।
बालेन र एमाले, विशेषगरी ओलीबीच सामाजिक सञ्जालमा वाक् युद्ध चलिरहन्छ । बालेनले थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती हटाउन खोज्दा ओलीले विरोध गरेका थिए । त्यसयता हरेकपटक खोला किनारका बस्तीको सन्दर्भ आउनेबित्तिकै बालेन ओलीलक्षित कमेन्ट सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।
थापाथलीस्थित सुकुम्बासी बस्ती डुबानमा परेपछि बालेनले ६ असारमा लेखेका थिए–माननीय केपी ओलीज्यू, आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ! अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?
उक्त पोस्टमा बालेनले काठमाडौंका खोलाछेउ करिब दुई हजार परिवारको बसोबास रहेको भन्दै अगाडि लेखेका थिए– तपाईंले पचाउन खोज्नुभएको गिरिबन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’
ओली पनि बालेनलक्षित पोस्ट गर्नमा कम्ती छैनन् । गत वैशाख २० मा सुकुम्बासीमाथि ज्यादती नगर्न ओलीले बालेनलाई चुनौती दिएका थिए । गत जेठ १९ मा ओलीले बालेनको कार्यशैली अराजक भएको टिप्पणी गरेका थिए ।