काठमाडौं– नेपाल इन्जिनियर एसोसिएसनको ३४औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इन्जिनियरहरुको हकहितमा दिलोज्यानले लाग्ने प्रतिबद्धता जनाएका छन् ।
बुटवलमा लुम्बिनी प्रदेशका इन्जिनियरहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संल्गन रहेकाले पनि इन्जिनियरहरुका समस्यासँग राम्रो जानकार रहेको बताए ।
सरकारी तथा निजी क्षेत्रका इन्जिनियर र आर्किटेक्टहरुका आ आफ्नै समस्या रहेको भन्दै उनले अबको २ वर्षका लागि सबै समुदायको उन्नतिका लागि ठोस काम गर्न सक्छु भन्ने प्रतिबद्धताका साथ टिमसहित चुनावी मैदानमा आएको बताए ।
सातै प्रदेशमा सबल प्रदेश समिति र केन्द्रमा केन्द्रीय समिति बनाउने सोचका साथ सामूहिक रुपमा अघि बढेको बताउँदै अध्यक्ष उम्मेदवार बरालले प्रदेशसँग मिलेर काम गर्ने बताए । आफ्ना कुराहरु प्रतिबद्धतामार्फत ल्याएको बताउँदै बरालले आफ्नो नेतृत्वमा पेशागत हक हितका सवालमा परिवर्तन ल्याइछाड्ने दृढता व्यक्त गरे ।
बुटवलमा भएको कार्यक्रममा इन्जिनियर तथा आर्किटेक्टहरुको बाक्लो सहभागीता रहेको उनको कार्यालयले जनाएको छ । सहभागीहरुले निर्वाचनमा बरालको योजनामा आफूहरु सहमत रहेको बताए । उनीहरुले अनुभव र संगठनप्रतिको लगाव भएकाले बराललाई सहयोगको प्रतिबद्धता समेत जनाए ।
बराल समूह पोखरामा अन्तरक्रिया सकेर काठमाडौंमा अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।