काठमाडौं– केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने कामको लागि गएको असार ३१ देखि बन्द रहेको मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सुचारु हुने भएको छ ।
चितवनको चेरेसदेखि गोरखाको प्रशिद्ध मनकामना मन्दिरसम्म केबुलकार सञ्चालन गरिरहेको कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गरी केबुलकार असोज १ बाट पुनः सुचारु हुने जानकारी दिएको हो ।
२०५५ मंसिर ८ देखि सञ्चालनमा आएको देशकै पहिलो यात्रुबाहक केबुलकारलाई २६ वर्षपछि स्तरोन्नति गरिएको हो । कम्पनीका अनुसार हालसम्म एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको मनकामना केबुलकार अब आधुनिक डिजिटल डी–कनेक्ट प्रणालीमा रुपान्तरण भएको छ ।
अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति भएको कम्पनीले जानकारी दिएको छ ।









