काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली उपभोग गरेबापतको प्रिमियम महशुल तिर्न बाँकी राखेका उद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै फेरि पत्र पठाएको छ ।
प्राधिकरणले यसअघि गत असार ९ गते १५ दिन समय दिएर बक्यौता तिर्न पत्राचार गरेको थियो । उद्योगीले उक्त ताकेताको बेवास्ता गरेपछि प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टिल र जगदम्बा स्टिलमा विद्युत् आपूर्ति रोकिदिएको थियो । अरु उद्योगको विद्युत् आपूर्ति पनि बन्द गर्ने योजनामा प्राधिकरण थियो ।
त्यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग जबरजस्ती पैसा उठाउन खोजेको भन्दै आलोचना गरे । उनले लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोडिदिन पनि मौखिक निर्देशन दिएका थिए । पछि विद्युत् नियमन आयोगको लिखित निर्देशनपछि दबाबमा परेको प्राधिकरणले साउन ८ गते ३ महीनाभित्र बक्यौता तिर्नुपर्ने शर्तमा ती उद्योगमा पुनः बिजुली जोडेको थियो ।
तैपनि उद्योगीले बक्यौता नतिरेपछि प्राधिकरणले फेरि पत्राचार गरेको प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् ।
उद्योगीहरूले भने टाइम्स अफ डे मिटर (टीओडी) को रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताउँदै आएका छन् । राजनीतिक संरक्षण पाएका कारण उनीहरुलाई अटेरी गर्न सजिलो पनि भएको छ ।









